बुद्ध नेपालमा नै जन्मिएका हुन्ः सुजाता सिंह

३१ भदौ । भारतीय विदेश सचिव सुजाता सिंहले निर्धारित मितिमै संविधानसभाको निर्वाचन हुनेमा भारत विश्वस्त रहेको बताएकी छिन् ।

नेपालको दुईदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले निष्पक्ष एवम् स्वतन्त्ररुपमा चुनाव सम्पन्न गर्न नेपाल सरकारलाई थप सहयोग प्रदान गर्न भारत तयार रहेको बताइन् ।
उनले विभिन्न राजनीतिक दलका नेतासँग भएका भेटवार्तामा उनीहरूले मंसिर ४ गते निर्वाचन गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेकाले चुनाव नहुनेमा आशंका गर्नुपर्ने कारण नभएको बताइन् । केही भारतीय सञ्चार माध्यममा ‘भगवान गौतम बुद्ध भारतमा जन्मेका’ भनेर भइरहेको प्रचारबाजीप्रति भारतीय विदेश सचिव सिंहले भनिन, ‘बुद्धको जन्मस्थल लुम्बिनी हो । लुम्बिनी नेपालमा पर्छ ।’

भारतीय विदेश सचिवलाई विमानस्थलमा नेपालका लागि भारतीय राजदूत रञ्जित रे, परराष्ट्र मन्त्रालय र यहाँस्थित भारतीय दूतावासका वरिष्ठ अधिकारीहरुले बिदाइ गरेका थिए ।

यसैबिच भारतले गौतमबुद्ध नेपालको लुम्विनीमा जन्मेको आधिकारिक धारणा सार्वजनिक गरेको छ । भारतीय सञ्चार माध्यमले गौतम बुद्ध भारतमा जन्मिएको भनी भ्रामक समाचार सम्प्रेषण गरेपछि बढ्दै गएको नेपाली आक्रोश साम्य पार्न काठमाडौंस्थित भारतीय दुतावासले आफ्नो धारणा सार्वजनिक गरेको हो । नेपालस्थित भारतीय दूतावासको फेसबुक अकाउन्टमा अशोक स्तम्भको फोटो राखेर बुद्ध लुम्विनीमै जन्मिएको उल्लेख गरिएको छ ।
‘हामी तपाईहरुको भावनालाई सम्मान गर्छौं । हालसालै भगवान गौतम बुद्धको जन्म स्थानको बिषयमा शुरु भएको वाद बिवादमा हामी स्पष्ट पार्न चाहन्छौं । भगवान गौतमबुद्ध नेपालको लुम्बिनीमा जन्मनु भएको हो, यस बिषयमा कुनै शंका छैन, यो भारत सरकारको आधिकारिक धारणा हो,’ सामाजिक सन्जाल फेसबुक अकाउन्टमा लेखिएको छ ।

नेपालको प्रगति विना भारतको पनि प्रगति नहुने भन्दै नेपालको समृद्धिको पनि कामना गरिएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...