काँग्रेसले संविधानसभा चुनावका लागि उमेद्वार छान्दै

१० असोज । नेपाली काँग्रेस संसदीय समितिको बुधवारको बैठकले आगामी संविधानसभा निर्वाचनमा पार्टीका तर्फबाट बन्ने उम्मेदवारका बारेमा केन्द्रमा प्राप्त राय, सुझाव र उजुरी उपर छानबिन प्रक्रिया टुङ्ग्याएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले ७५ जिल्ला २४० निर्वाचन क्षेत्रबाटका जिल्ला, क्षेत्र तथा व्यक्तिगत र सामूहिकरूपमा परेका उजुरीहरूको छानबिन गरी टुङ्गो लगाएको हो ।

पार्टीका सबै पक्षलाई एकताबद्ध बनाउन सहमतिको अवस्था सिर्जनाका लागि सबै उजुरीलाई सम्मान गर्दै यसलाई सहमतिका साथ टुङ्गो लगाइएको समितिका सदस्य अर्जुननरसिंह केसीले बताए । केसीका अनुसार आगामी संविधानसभाका लागि पार्टीका तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने व्यक्तिको छनोटका बारेमा आजबाट छलफल सुरु हुनेछ ।

यसअघि मंगलबारको बैठकले आगामी संविधानसभाको लागि पार्टीका तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने व्यक्तिको छनोटको कार्यविधि र मापदण्ड तयार गर्ने कार्य सुरु गरेको थियो ।
नेपाली काँग्रेसले क्षेत्रीय समितिको सिफारिस, उम्मेदवारको जनप्रियता, योग्यता, क्षमता र निरन्तरताका आधारमा जो प्रभावकारी छ त्यसलाई नै टिकट दिनुपर्छ भन्ने आम कार्यकर्ताको भावनालाई आत्मसात् गरेर उम्मेदवार छनोटको कार्यविधि र मापदण्ड बनाउन लागेको बुझिएको छ ।
बुधबारको छलफलमा कुनै व्यक्ति विशेषतर्फ नभएर राष्ट्रिय जीवनका विभिन्न पक्षमा योगदान दिने महानुभावलाई कसरी समेटेर प्रतिनिधित्वको सुनिश्चितता दिन सकिन्छ भन्नेबारेमा सैद्धान्तिक बहस र छलफल भएको समितिका सदस्य अर्जुननरसिंह केसीले बताए ।
नेपाली काँग्रेसले राष्ट्रिय जीवनका विभिन्न क्षेत्र र विधामा योगदान दिने डाक्टर, इन्जिनियर, शिक्षक, ट्रेड युनियन, महिला, आदिवासी जनजाति, दलित, कलाकार र पत्रकारसमेत समेटेर लैजानुपर्छ भन्ने मान्यताका आधारमा उम्मेदवार छनोटको सैद्धान्तिक आधार तयार व्यवस्थित तुल्याउन घनिभूत छलफल भइरहेको उनले बताए ।
संसदीय समितिले पहिला दुर्गम क्षेत्रका १९ जिल्ला र क्रमशः अन्य जिल्लाका उम्मेदवारको छनोट गरिने नेता केसीले जानकारी दिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...