बीपी कोइरालाको जन्मजयन्ति मनाइँयो

२४ भदौ । नेपाली कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको एक सयौं जन्मजयन्ती सोमबार विविध कार्यक्रम गरी मनाइएको छ ।

बीपी कोइरालाको एक सयौ जन्मजयन्तीको अवसरमा बीपी संग्रहालय सुन्दरीजलमा शतवार्षिकी समारोह गरिएको छ । समारोहमा नेपाली कांग्रेसका शीर्ष नेताहरुले देशमा राजनीतिक स्थिरता र आर्थिक विकास भई जनता बलियो भए मात्र राष्टियता बलियो हुने धारणा राखेका छन् । कार्यक्रममा सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले प्रजातन्त्र र राष्टियताका लागि बीपीको विचार अहिले पनि उत्तिकै सान्दर्भिक भएको बताउनुभयो । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले संविधानविना नेपालको राजनीतिले स्थिरता नपाउने भन्दै संविधान निर्माणमा सहभागी हुन नेकपा–माओवादीलाई आग्रह गर्नुभयो ।

यसैगरी कांग्रेस उपसभापति रामचन्द्र पौडेलले नेकपा–माओवादी चुनावमा आए उसले राखेका सबै मागमा लचिलो हुने बताउनुभयो । समारोहमा नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले बीपीले लिएको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । कार्यक्रममा सहभागी भारतीय नेताहरु देवेन्द्रप्रसाद यादव, सुरेन्द्रप्रसाद जर्फल अली लगायतले बीपी कोइरालाले भारत स्वतन्त्रताको आन्दोलनमा उल्लेख्य भूमिका खेलेको उल्लेख गरेका थिए ।

कार्यक्रममा जनकपुरका अरविन्द्रकुमार ठाकुरलाई बीपी कोइराला प्रजातान्त्रिक पुरस्कार दिइएको थियो । बीपी कोइरालाको जन्मजयन्तीकै अवसर पारेर बीपी संग्रहालय परिसरभित्र पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिकको पनि शिलान्यास गरिएको छ । १९७१ साल भाद्र २४ गतेका दिन जन्मिएका बीपी कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...