१७ भदौ । नेकपा एमालेले पार्टी अध्यक्ष झलनाथ खनालको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

पार्टी मुख्यालय बल्खुमा सोमबार बसेको केन्द्रीय कमिटी बैठकले आसन्न चुनावमा पार्टी पंक्ति परिचालन गर्न अध्यक्ष खनालको नेतृत्वमा गठन गर्ने निर्णय गरेको हो । कमिटीमा विकास क्षेत्रका इञ्चार्जहरु सदस्य रहने एमालेले जनाएको छ । केन्द्रीय परिचालन कमिटिले आवश्यकता अनुसार क्षेत्रीय कमिटिहरु गठन गर्न सक्ने पनि एमालेले निर्णय गरेको छ । एमालेको पूर्वाञ्चलमा उपाध्यक्ष विद्या भण्डारी, मध्यमाञ्चलमा सचिव युवराज ज्ञवाली, पश्चिमाञ्चलमा सचिव शंकर पोखरेल र मध्य पश्चिम तथा सुदुर पश्चिम इन्चार्ज उपाध्यक्ष वामदेव गौतम हुनुहुन्छ ।

यस्तै, चुनावमा पार्टीको तर्फबाट जारी गरिने घोषणापत्रको निर्माण गर्न केन्द्रीय सचिवालयलाई जिम्मा दिएको छ । सचिवालयको प्रस्ताव स्थायी कमिटिले पारित गरेअनुसार घोषणापत्र तयार गरिने पनि एमालेले जनाएको छ । बैठकले क्षेत्रीय कमिटीबाट प्राप्त उम्मेद्वारको नाम टुंगोसम्बन्धी प्रस्ताव केन्द्रीय कमिटीमा लैजान स्थायी कमिटीलाई जिम्मा दिएको छ । बैठकमा बोल्ने अधिकांश नेताहरुले आसन्न चुनावलाई ध्यानमा राखेर पार्टीभित्र कुनै पनि प्रकारका विवाद र गुटबन्दी नगर्न नेतृत्वलाई सुझाव दिएका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...