एमाओवादीले संविधानसभा चुनावको टिकट बाँढ्दै

११ असोज । एकीकृत नेकपा माओवादीले संविधानसभा निर्वाचनको उम्मेदवारको तय आज गर्ने भएको छ ।


पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा विहिवार बसेको केन्द्रीय कार्यालय र उम्मेदवार छनौट समितिको संयुक्त बैठकले समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारको नामावलीका विषयमा छलफल गरिएको र आजसम्म टुङ्गो लगाइने निष्कर्ष निकालेको हो ।
हिजोको बैठकमा हिमाली तथा पहाडी जिल्लाका उम्मेदवारहरूको विषयमा छलफल भएको बताइएको छ ।
एमाओवादीका नेता वर्षमान पुनले दिएको जानकारी अनुसार वैठकमा समग्र उम्मेदवार,पार्टीको चुनावी घोषणापत्र र चुनावी रणनीतिलगायतका विषयमा छलफल भएको र आज विहानैबाट बस्ने बैठकले नामावलीलाई अन्तिम रुप दिनेछ ।
मुलुकभरबाट उम्मेदवार बन्न चाहनेहरूको आकाङ्क्षीको सङ्ख्या तीन हजार भन्दामाथि रहेकाले त्यसबाट सीमित नाम छान्नु सजिलो विषय नभएको भन्दै नेता पुनले निर्वाचनमा विजयी हुने उम्मेदवार नै पार्टीले अगाडि सार्ने बताए ।
सबै वर्ग क्षेत्रलाई मिलाएर समावेशी, समानुपातिक र जनताकोबीचमा लोकप्रियहरूलाई उम्मेदवार बनाउने तयारी गरिएको उनको भनाइ छ ।
प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठक उम्मेदवार छनौटमा नै केन्द्रीत भएको जानकारी दिँदै आजको बैठकले सबै विषयमा टुङ्गो लाग्ने जानकारी दिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...