एनआरएन युकेको अधिवेशनको अन्तिम तयारी

लन्डन-पूर्व निर्धारित कार्यक्रमअनुसार नै सेम्टेम्बर १५ मा साउथ इष्ट लन्डनको प्लेमस्टेडमा एनआरएन युकेको अधिवेशनमा भव्य रुपमा सम्पन्न हुने भएको छ । अधिवेशन तयारी समितिका संयोजक राजकुमार त्रिपाठीले अधिवेशनमा बेलायतवासी नेपालीको भव्य उपस्थिती रहने बताउँदैं तयारीमा अन्तिम चरणमा पुगेको बताए ।

विवादपछि एनआरएन बेलायत दुई भागमा विभाजित बनेको छ । विवाद मिलाउन पटक-पटक भएका प्रयासहरु असफल भएपछि दुईटै समूहले फरक-फरक अधिवेशन गर्न लागेका हुन् । एनआरएन आइसीसीका सल्लाहकारहरुले सबै समस्याहरु प्याकेजमै सहमति गर्ने बताएपनि अहिलेसम्म कुनै सहमति हुन सकेको छैन् । यसअघि दुवै समूहले सहमतिका लागि आइसीसीलाई छुट्टा-छुट्टै सहमतिका प्याकेजहरु समेत पठाएका थिए ।

आइसीसीको प्याकेज सहमतिको प्रयास अनुसार प्रा. सुर्य सुवेदीले सहमतिका लागि डाँकेको बैठकमा अर्को पक्षको नेतृत्व गरेका योगेन क्षेत्री अनुपस्थित भएका थिए । जसका कारण सहमतिका लागि गरिएको उक्त पहल पनि असफल भएको थियो । क्षेत्रीले विभिन्न बखेडा झिकेर वार्तामा बस्न अस्वीकार गरेको बताइएको छ ।

पटक-पटक सहमतिका लागि प्रयास गरेर आव्हान गर्दा पनि योगेन क्षेत्री समूहले अहिलेका अध्यक्ष कुल आचार्यको सहयोगमा पेलेर जाने तयारी गरेपछि अहिलेसम्म सहमति हुन नसकेको संयोजक त्रिपाठीले बताए । एनआरएन युकेमा यति ठूलो विवाद हुँदा समेत आइसीसी अध्यक्ष जीवा लामिछाने विवाद समाधानका लागि बेलायत नआउनुलाई पनि कतिपय एनआरएन बेलायतका अगुवाहरुले आश्चर्यका रुपमा लिएका छन् ।


एनआरएन युकेको सबै पदहरुमा निर्विरोध भइसकेका छन् । अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष महेन्द्र कंडेलको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा सुर्य नेम्बाङ्ग, उपाध्यक्षमा हिराधन राई, संयोजकमा राज कुमार त्रिपाठी निर्विरोध भएका छन् । त्यस्तै सहसंयोजकमा डम्बर लीम्बु, कोषाध्यक्षमा ठाकुर प्रसाद शर्मा निर्विरोध भएका छन् ।

त्यस्तै तिल कुमारी लिम्बु (कल्पना आङवुहाङ), धर्म तामाङ, योगेश राई, मिन बहादुर रानाभाट, उत्तम राई, बिष्णु वाग्ले, हरी गुरुङ, बुद्धिम थापा मगर, ललीत न्यौपानेले सदस्यमा निर्विरोध भएका छन् । ६ हजार बढि सदस्यता संख्या भएको एनआरएनए युकेको आइसीसी सदस्यमा कर्ण शाही, विज्ञान प्रसाई, विनोद ज्ञवाली, तेज राई, कैलास नेपालले सर्वसम्मत भएका छन् । कडेंल समूहले आफूसँग धेरै सदस्यहरु र बेलायतका बहुमत नेपालीहरुको समर्थन रहेको दाबी गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...