रासायनिक हतियार प्रयोगको पुष्टि गर्न अमेरिकालाई सिरियाको चुनौति

२४ भदौ । सिरियाका राष्ट्रपति बसर अल असदले आफूहरूले रासायनिक हतियार प्रयोग गरेको पुष्टि गर्न अमेरिकालाई चुनौती दिएका छन् ।

राष्ट्रपति असदले रासायनिक हतियार प्रयोग भएकोबारे अमेरिकासँग कुनै प्रमाण नभएको दाबी गर्दै यस्तो चुनौती दिएका हुन् । सिरियामाथि आक्रमण भए आफ्ना मित्र राष्ट्रहरूसँग मिलेर सशक्त प्रतिकार गर्नेसमेत उनले चेतावनी दिएका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफूले लिएको नीतिको साथ दिन अमेरिकी जनतासमक्ष आग्रह गरिसकेका छन् । विदेशमन्त्री जोन केरीले युरोपेली राष्ट्रहरूलाई अमेरिकाको समर्थन गर्न आग्रह गरेका छन् । सिरियामाथि आक्रमण गर्ने वा नगर्नेबारे अमेरिकाको सिनेटमा बुधबार मतदान हुँदैछ ।

यसैबीच चीनले सिरियामाथि सैनिक आक्रमण नगर्न अमेरिकालाई आग्रह गरेको छ । सिरियाको विषयलाई राष्ट्र संघ सुरक्षा परिषद्मार्फत टुंग्याउनु पर्नेमा जोड दिंदै चीनले कुनै कदम चाल्न अघि तीनपल्ट सोच्न अमेरिकालाई आग्रह गरेको छ ।

चिनियाँ विदेशमन्त्री वाङ ईले अमेरिकी विदेशमन्त्री जोन केरीसँगको टेलिफोन वार्तामा सिरियाली संकटका विषयमा सावधानीपूर्वक कदम चाल्न अमेरिका लगायत पश्चिमा मुलुकहरुलाई आग्रह गरेका छन् । उनले आक्रमण गरे अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हुने पनि बताएका छन् । सिरियामा भएको रासायनिक हतियारको प्रयोगका विषयमा निष्पक्ष छानबिन हुनुपर्नेमा चीनले जोड दिंदै आएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...