नेकपा–माओवादीबाट ताम्सिालिङ बन्द, जनजीवन प्रभावित

३० भदौ । नेकपा–माओवादीसहितको ३३ दलीय मोर्चाले आव्हान गरेको बन्दका मध्य तराई र मध्य पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ ।

गोलमेच सम्मेलन लगायतका मागमा उच्चस्तरीय राजनीतिक समिति गम्भीर नभएको भन्दै मोर्चाले बन्द आव्हान गरेको हो । बन्दका कारण विहानैदेखि पूर्वी तराईका सप्तरी, सिराहा तथा मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, चितवन र मध्य पहाडका सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर लगायतका जिल्लाको जनजीवन प्रभावित भएको छ । ती क्षेत्रमा लामो तथा छोटो दुरीका सवारीसाधन चलेका छैनन् भने बजार, पसल, कलकारखाना, शिक्षण संस्था ठप्प छन् । यसैबीच जबर्जस्ती बन्द गराउँदै हिडेंका माओवादी केन्द्रीय सदस्य चुडामणि गौतमसहित १५ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्ना नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको भन्दै आक्रोशित माओवादी कार्यकर्ता र प्रहरीबीच झडप हुँदा काभ्रेको बनेपा तनावग्रस्त बनेको छ । यसअघि मोर्चाले काठमाडौं उपत्यका, पूर्वाञ्चल र मध्य तथा सुदूर पश्चिमाञ्चल बन्द गराएको थियो । ३३ दलीय मोर्चाले राजनीतिक निकासका लागि सर्वदलीय गोलमेच सम्मेलन, सरकार परिवर्तनलगायतका माग राख्दै आएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...