सुरक्षा स्थितिका विषयमा रेग्मी र प्रधानसेनापतिबीच छलफल


३१ भदौ । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र प्रधानसेनापति गौरब शम्शेर जबराबीच देशको समग्र सुरक्षा स्थितिका बारेमा सोमबार छलफल भएको छ ।

भेटका क्रममा उनीहरुबीच आगामी मंसिर ४ गतेका लागि निर्धारित संविधानसभा निर्वाचनलाई सुनिश्चित गर्दै सफलतापूर्वक सम्पन्न गर्न लिइने सुरक्षा रणनीति र सुरक्षा प्रबन्धका बारेमा गम्भीर कुराकानी भएको रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले जानकारी दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त छलफलका क्रममा प्रधानसेनापति राणाले देशको पछिल्लो समग्र शान्ति सुरक्षाको अवस्थाबारे मन्त्रिपरिषद् अध्यक्षलाई जानकारी गराएका थिए ।

साथै, वर्तमान समयमा अपरिहार्य बनेको संविधानसभा निर्वाचनलाई निर्धारित मितिमै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक पर्ने सुरक्षा व्यवस्थाका बारेमा निरन्तर छलफल जारी राख्ने विषयमा पनि छलफल भएको छ ।

प्रत्येक बालिग नेपाली नागरिकले भयरहित वातावरणमा मतदान गर्न पाउने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको प्रत्याभूत गर्दै अघि बढ्ने विषयमा पनि उनीहरुबीच छलफल भएको छ ।

भेटकै क्रममा प्रधानसेनापति राणाले आफ्नो हालैको बेलायत भ्रमण सफल भएको र नेपाली सेना र बेलायती सेनाबीच लामो समयदेखि कायम रहँदै आएको मैत्री सम्बन्ध यस भ्रमणबाट थप प्रगाढ भएको जानकारी पनि गराए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...