सुपथ मूल्य पसलमा भाउ सोध्नेको भीड

४ असोज । सर्वसाधारण उपभोक्तालाई लक्षित गरी दसैँका लागि खाद्य वस्तु बेच्न सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलमा किन्नेभन्दा पनि भाउ सोध्ने र हेर्ने उपभोक्ताको भीड बढेको छ ।

सरकारले बिहीबारदेखि उपत्यकाका आठ स्थानमा सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमध्ये ललितपुर जिल्लाको जावलाखेलमा रहेको सुपथ पसलमा के–के राखिएको छ, अन्यत्रको तुलनामा सस्तो पर्छ कि पर्दैन भन्ने बुझ्न आउने उपभोक्ता बढी पाइएको व्यवस्थापकले जनाएका छन् । सुपथ मूल्य पसलमा साँच्चै सस्तो भाउ छ कि छैन भनेर बुझ्न जानेहरुको बढी भीड लाग्ने गरेको छ ।
भाउ बुझ्नेहरुमा प्रायः पुरुष रहेका छन् । भर्खर सञ्चालनमा आएकाले व्यवस्थापन गर्न पनि बाँकी छ, ग्राहक बिस्तारै बढ्ने व्यवस्थापक पक्षको भनाइ छ । अघिल्लो वर्षतिर पनि सुरुसुरुमा सोध्ने मात्रै आउँथे, पसल सुरु भएको १०–१५ दिनदेखि उभिएर कुरा गर्ने फुर्सद हुदैन’ । सुपथ मूल्य पसलमा नुन, चिनी, दाल, चामल, मसला, तेल, घ्यू, डाल्डा, पीठो, दूध लगायतका खाद्य वस्तु के कतिमा बिक्री गरिन्छ भन्ने दरभाउ सबैले देख्ने गरी टाँसिएकाले बिक्रेतालाई सोध्नभन्दा सूची हेरेर नोट गरेको देखिन्थ्यो भने खाद्य वस्तु किनेर लैजानेलाई कपडाको झोलामा दिइएको देखिन्थ्यो ।

जाउलाखेल चोकमै रहेको ललितपुर उपमहानगरपालिका–४ को कार्यालयमा रहेको सुपथ मूल्य पसलले बजारमा प्रतिकेजी ७२ रुपैयाँ पर्ने चिनी ६६ रुपैयाँमा र १५ रुपैयाँ पर्ने आयोडिन नुन प्रतिकेजी १३ रुपैयाँमा बिक्री गरिरहेको छ ।

बजार भाउभन्दा केही सस्तो भए पनि बिहान झन्डै ११ बजेतिर मात्र खुल्ने र साँझ साढे ४ बजे नै बन्द हुने भएकाले सबैकालागि सहज नहुने एकतर्फीको गुनासो पनि रहेको छ ।

सरकारी स्वामित्वका नेपाल खाद्य संस्थान, साल्ट टेडिङ, दुग्ध विकास संस्थान, नेसनल ट्रेडिङ लिमिटेडका उत्पादन राखिएका सुपथ मूल्य पसल अहिलेदेखि छठ पर्वसम्म झन्डै दुई महिना सञ्चालनमा आउने ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलेले जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...