प्रधानसेनापति राणा भारत भ्रमणमा जाँदै

११ असोज । प्रधानसेनापति गौरवशमशेर राणा यही १३ गते भारतको सप्ताहव्यापी भ्रमणमा जानु हुने भएको छ ।

भारतीय स्थल सेनाका सेनाध्यक्ष जनरल विक्रम सिंहको औपचारिक निमन्त्रणामा प्रधानसेनापति राणा भारत भ्रमणमा जान लाग्नु भएको नेपाली सेनाले शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । भ्रमणले नेपाल र भारतबीचको सैनिक सहयोगको क्षेत्रका अलावा दुई देशबीचको अन्य आपसी हितमा समेत योगदान पुग्ने सेनाले जनाएको छ । प्रधानसेनापति राणासँग उपरथी भिक्टर राणा, सहायक रथी सुरेश शर्मा लगायत पाँच सदस्यीय टोली भारत भ्रमणमा जानेछ ।

राणाले आफ्ना समकक्षीका साथै भारतीय रक्षामन्त्री र रक्षामन्त्रालयका उच्चपदस्थ अधिकारीसँग समेत भेटघाट गर्नुहुनेछ । भ्रमणका क्रममा सैन्य सहयोगबारे पनि कुरा हुने सेनाले जनाएको छ । विस्तृत शान्ति सम्झौताका कारण भारतले दिँदै आएको सैनिक सहयोग लामो समयदेखि रोकिएको थियो । प्रधानसेनापति राणा असोज १९ गते र्फकने कार्यक्रम रहेको छ । प्रधानसेनापति बनेपछि राणाको यो तेस्रो भारत भ्रमण भएपनि औपचारिक रुपमा भने यो दोस्रो भ्रमण हो । यसअघि उहाँ चीन र बेलायतको भ्रमणमा जानुभएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...