एमाओवादीले प्रत्यक्षतर्फका उम्मेद्ववारको टुंगो लगायो

१३ असोज । एकीकृत नेकपा माओवादीले प्रत्यक्षतर्फ लड्ने शीर्ष नेताहरूको उम्मेद्वारीको टुंगो लगाएको छ ।

दाहाल निवासमा लाजिम्पाटमा आइतबार बसेको पूर्वपदाधिकारी र उम्मेदवार छनौट समितिको बैठकले नेता नारायणकाजी श्रेष्ठ बाहेक अन्य शीर्ष नेताको उम्मेवारीको टुंगो लगाएको हो । जसअनुसार अध्यक्ष पुष्पकमल दाहाल काठमाडौ क्षेत्र नम्बर १० र सिराहा क्षेत्र नम्बर ५, डाक्टर बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर १ र रूपन्देही क्षेत्र नम्बर ४ मा प्रत्यक्षबाट चुनाव लड्नु हुनेछ । त्यस्तै, पोष्टबहादुर बागेटी नुवाकोट क्षेत्र नम्बर ३ बाट प्रत्यक्षमा चुनाव लड्नु हुनेछ । त्यस्तै, बैठकले हिमाली जिल्लासहित सेती–महाकाली र भेरी–कर्णालीका पहाडी जिल्लाका प्रत्यक्ष उम्मेदवारको टुंगो लगाएको छ । प्रत्यक्षतर्फ सोमबार र समानुपातिकतर्फ मंगलबारसम्ममा बाँकी सबै क्षेत्रका उम्मेदवारको टुंगो लागिसक्ने एकीकृत माओवादीले जनाएको छ ।
यसैबीच उम्मेदवारको टुंगो लगाउन रस्साकस्सी भइरहेका बेला कैलालीका अधिकांश निर्वाचन क्षेत्रबाट भने एकीकृत नेकपा माओवादीका नेताहरूले बागी उम्मेदवारी दिने तयारी गरेका छन् ।
६ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा क्षेत्र नम्बर १ बाहेक सबै क्षेत्रमा बागी उम्मेदवारी दिने तयारी भइरहेको हो । जस अनुसार क्षेत्र नम्बर २ बाट अगस्त अधिकारी, क्षेत्र नम्बर ३ बाट ऋषि बिनाडी, क्षेत्र नम्बर ४ बाट कृष्ण चौधरी, क्षेत्र नम्बर ५ बाट देवेन्द्रबहादुर शाह र क्षेत्र नम्बर ६ बाट डीएल भण्डारीले उम्मेदवारी दिने तयारी गर्नुभएको छ । पार्टीले आफूहरूलाई अवमूल्यन गरेकाले बागी उम्मेदवारी दिने तयारी गरेको उहाँहरूले बताउनुभयो । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका तीन नेता एकीकृत माओवादीमा फर्किएलगत्तै अनौपचारिक रूपमा बागी उम्मेदवारी घोषणा गरेका हुन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...