दशैंको नवौं दिन सिद्धिरात्रीको पूजा आराधना हुँदै, शक्तिपीठहरुमा बलि चढाइदै

आज बडा दसैंको नवौं दिन देशभर शक्तिस्वरूपा दुर्गाभवानीको पूजा गरी महानवमी पर्व मनाइएको छ । दुर्गा भवानीको नौ रूपमध्ये आज देवी सिद्धिरात्रीको पूजा आराधना गरी नवमी मनाइएको छ ।

घटस्थापनाका दिन राखिएको जमरा आज विभिन्न शक्तिपीठमा चढाउने चलन छ । आज दसैंघर र कोतलगायत विभिन्न देवीका मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित विशेष पूजाअर्चनाका साथ सप्तशती पाठ गरिदैंछ ।

त्यस्तै, शाकाहारीहरूले कुभिन्डो, घिरौंला र मूलाको बली दिने र नरिवल चढाउने चलन छ । पुराणअनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यस दिनलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय ठाउँमा आज हाँस, कुखुरा, बोका, भेडा रराँगाको पञ्चबलि पनि दिइन्छ । यस पर्वमा कोतमा हर्ष बढाइंका साथ कोतपूजा र निशान पूजा गरिन्छ ।

महानवमीकै अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्ममा बाजागाजासहित बलि दिएर जङ्गी निशानपूजा तथा कोतपूजा गर्ने चलन छ ।

त्यस्तै, तराईका शक्तिपीठहरूमा आज पनि बली दिनुका साथै भगवतीको पूजा आराधना गरिएको छ । आजै कुमारी कन्यालाई पूजा गरी भोजन गराउने चलन छ । आजै नवदुर्गाको प्रतीक स्वरूप साना नौ कन्यालाई पुज्ने परम्परा पनि छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...