सन २०१५ का लागि डीभी चिट्ठाको आवेदन खुला

१५ असोज । अमेरिकाले सन् २०१५ का लागि डाइभर्सिटी भिसा चिट्ठा डीभी को आवेदन आजबाट खुला गरेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

डीभीका लागि आवेदन दिन चाहनेलाई आज मध्याह्नदेखि खुल्ला गरिएको र कात्तिकको १६ गतेसम्म आवेदन दिन सकिने दुतावासले जानकारी दिएको छ ।

एक महिनाको अवधि दिएर सार्वजनिक गरिएको डीभी चिट्ठा भर्नका लागि कुनै शुल्क नलाग्ने जनाउ दिँदै दूतावासले फाराम भर्न कुनै परामर्शदाताको सहयोग नलिनसमेत आग्रह गरेको छ ।

‘डीभी चिट्ठामा सहभागी हुन कुनै शुल्क नलाग्नेबारे अमेरिकी दूतावास सबै आवेदकसमक्ष जानकारी गराउन चाहन्छ।

आवेदन भर्दा कन्सल्टेन्ट अर्थात् परामर्शदाताको सहयोग नलिन अमेरिकी दूतावास सुझाव गर्दछ। सहयोग चाहिएमा बरु पारिवारिक सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको मद्दत लिनुहोला। जसको मद्दत लिए पनि अन्त्यमा गएर आफ्नो आवेदनका लागि तपाईं स्वयं नै जिम्मेवार रहनुहुनेछ,’ दूतावासले गत आइतबार जारी गरेको सूचनामा भनिएको छ।

अमेरिकी दूतावासले www.dvlottery.state.gov मा गएर फाराम भर्न सकिने जनाएको छ ।

डीभी–२०१५ कार्यक्रममा डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदन इलेक्ट्रोनिक माध्यमद्वारा दर्ता अवधिभित्र पेस गरिसक्नुपर्ने भन्दै दूतावासले विवाहितहरूले दर्ता गर्ने समयमा श्रीमान्–श्रीमती र २१ वर्षमुनिका सबै अविवाहित सन्तानको नाम अनिवार्य रूपमा उल्लेख गरी फाराम भर्न सुझाएको छ ।

परिवारका सदस्य उल्लेख नगरिए आवेदन रद्द हुने भन्दै दूतावासले एक व्यक्ति या परिवारले एउटा मात्र आवेदन भर्न सुझाएको छ ।

एकभन्दा बढी आवेदन भरे चिट्ठा रद्द हुने भन्दै उसले फाराम भरिसकेपछि १५ जुन २०१५ सम्म कन्फर्मेसन लेटर सुरक्षित राख्न भनेको छ ।

डीभी परेरनपरेको आधिकारिक जानकारी सोही पत्रबाट मात्र हुने स्मरण गराउँदै दूतावासले डीभी चिट्ठाको नतिजा १ मे २०१४ मा सार्वजनिक गरिने जनाएको छ ।

चिट्ठामा छनोट हुँदैमा भिसा पाइने ग्यारेन्टी नहुने भन्दै दूतावासले अमेरिकी आप्रवासन कानुनयोग्य व्यक्तिलाई मात्र अवसर दिने पनि स्पष्ट पारेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...