‘एसओएस वालग्राम नेपाल विश्वकै उत्कृष्ट वालग्राम’: अध्यक्ष कुटिन
बलराम प्यासी
भक्तपुर, १८ । नेपालको दुईसाताव्यापी भ्रमणमा रहेका एसओएस अन्तराष्ट्रियका मानार्थ अध्यक्ष हेल्मुट कुटिनले विश्वका १३४ मुलुकमा रहेका एसओएस वालग्रामहरुमध्ये एसओएस वालग्राम नेपाल पहिलो स्थानमा रहेको खुलासा गरेका छन् ।
आफ्नो ७२ अँौं जन्मदिन मनाउने क्रममा शुक्रबार एसओएस वालग्राम सानोठिमीमा आयोजित कार्यक्रमपछि पत्रकारहरुसंग कुरा गर्दै उनले एसओएस वालग्राम नेपालले एसओएसको अन्तराष्ट्रिय मान्यता अनुसार जोखिममा परेका वालवालिकाको उचित स्याहारसुसार तथा संरक्षण गरिरहेको, उनीहरुलाई व्यवहारमै गुणस्तरीय शिक्षा दिनुका साथै समाजमा असल नागरिक बनाउन कुनै कसर नछोडेको बताए । नेपालमा हाल ९ वटा एसओएस वालग्राममा करीव १ हजार ८०० वालवालिका तथा युवाहरु छन् भने नेपालभरी रहेका हर्मन माइनर स्कुलमा करीव ४ हजार ७०० विद्यार्थी अध्ययनरत छन् ।
नेपालमा विगतमा भएको १० वर्षे द्धन्दकालिन अवस्थामा पनि एसओएस वालग्राम नेपालले कुनै विवाद विना द्धन्दपीडित वालवालिकालाई आश्रय दिन र शिक्षादिक्षा दिँदै उनीहरुको अधिकारको संरक्षण गर्ने काम प्रशंसनिय ढंगले निभाएकोमा पनि खुसी व्यक्त गरे ।
एसओएस वालग्राम नेपालका शुभचिन्तक र व्यक्तिगत दातासमेत रहेका अध्यक्ष कुटिनले एसओएस वालग्राममा हुर्केर उच्चशिक्षा पाएका युवायुवतीहरुलाई उपयुक्त रोजगारी दिन नेपाल सरकारले चासो दिनुपर्ने पनि बताए । आफ्नो ६० औं जन्मोत्सवका अवसरमा उठेको करीव १० करोड रुपैयाँको लागतमा उनले १८ वटा सुविधासम्पन्न घरसहित चितवनमा एसओएस वालग्राम नै बनाईदिएका थिए ।
विगतमा नेपाल सरकार एसओएस वालग्रामप्रति जति चिन्तित थियो, अहिले त्यति चिन्तित नभएको उल्लेख गर्दै उनले ४० वर्षअगाडि स्थापित एसओएस वालग्राम सानोठिमी होस या त्यसपछि स्थापना भएको एसओएस वालग्राम इटहरी, गण्डकी, छोरेपाटन पोखरा र सुर्खेतमा वालग्राम बनाउँदा त्यतिखेरको सरकारले निशुल्क जग्गा उपलब्ध गराएको स्मरण गर्दै अहिले नेपाल सरकारले जग्गा नँदिँदा वालग्राम आफैंले महंगोमा किन्न परिरहेको गुनासो पनि गरे । ‘एसओएस वालग्राम अरुका लागि हैन, जोखिममा परेका नेपालकै वालवालिकाको लागि हो’—उनले भने ।
नेपालको सुदुरपश्चिमाञ्चल विकास क्षेत्रको कैलाली धनगढीमा शुक्रबारदेखि निर्माण शुरु गर्न लागिएको नेपालको दशौं एसओएस वालग्रामको शिलान्यासका लागि उनी नेपाल आएका हुन् । १८ वटा सुविधा सम्पन्न घरसहितको एसओएस वालग्राम धनगढी निर्माणका लागि एसओएस अष्ट्रियाका दाता ( नाम नखुलाउने शर्तमा) ले २० लाख अमेरिकी डलर दिने सम्झौता भएको पनि अध्यक्ष कुटिनले बताए । अध्यक्ष कुटिनकै पहलमा ती दाताले दिन एसओएस वालग्राम नेपाललाई सो सहयोग दिन लागेका हुन् । शिलान्यासका लागि दाताका प्रतिनिधि गेर्नट फ्रयांक पनि नेपाल आएका छन् ।
नेपालमा हाल सञ्चालनमा रहेका वालग्रामहरुलाई सँधै दाताको सहयोगमा निर्भर नबनाई नेपालीहरुबाट पनि निरन्तर सहयोगको अपेक्षा गर्दै उनले भने—‘नेपाली वालवालिकाको अवस्था सुधार्नु नेपाल सरकार र हर नेपालीको हो । ’
शुक्रबार विहान सानोठिमीमा आयोजित कार्यक्रममा एसओएस वालग्राम सानोठिमीका वालवालिका तथा आमाहरुले अध्यक्ष कुटिनको ७२ औं जन्मदिवसका अवसरमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा एसओएस वालग्राम नेपालका निर्देशक श्रीशंकर प्रभानांग, सानोठिमीका निर्देशक खगेन्द्र नेपाललगायतले अधयक्ष कुटिनले नेपालप्रति देखाएको सद्भाव र माया उदाहरणीय र प्रशंसनीय भएको बताएका थिए ।
0 comments
Write Down Your Responses