दशैंका लागि खसीबोका बिक्री खुला

१६ असोज । नेपाल खाद्य संस्थानले बुधबारदेखि उपत्यकामा खसीबोकाको बिक्री खुला गरेको छ ।

प्रत्येक वर्ष घटस्थापनाको भोलिपल्टदेखि बिक्री खुला गरिँदै आएकोमा यस वर्ष भने दुई दिनअगाडि वितरण खुला गरेको हो । दसैंलाई लक्षित गरी संस्थानले एक साताअघि खसीबोका भित्र्याई बिक्री खुला गरेको हो । संस्थानले यस वर्ष खसीबोकामा चारथरी मूल्य निर्धारण गरेको छ ।

संस्थानका अनुसार २० केजीसम्म ३ सय ७० रुपैयाँ, २० केजीदेखि २४ केजीसम्म ३ सय ८५ रुपैयाँ त्यस्तै २४ केजीदेखि ३० केजीसम्म ३ सय ९० रुपैयाँ र ३० केजीदेखि माथिका खसीबोकामा ३ सय ९५ रुपैयाँ मूल्य निर्धारण गरिएको संस्थानले जनाएको छ ।

गत वर्ष संस्थानले दुईथरी मूल्यमा २५ केजी तलका प्रतिकेजी ३ सय ४ रुपैयाँ र ३५ केजीमाथिका खसीबोकालाई ३ सय १४ रुपैयाँमा निर्धारण गरेको थियो ।

यस वर्ष संस्थानले नेपालगन्ज, सुर्खेत र लहानबाट ३ हजार ४ सय खसीबोका ल्याउने भएको छ । संस्थान अञ्चल कार्यालय बाग्मतीका प्रमुख श्यामभक्त वैद्यले मंगलबारसम्ममा नेपालगन्जबाट १ हजार ७० ओटा खसीबोका भित्रिसकेको जानकारी दिनुभयो ।

उपभोक्ताले फूलपातीपछि मात्र खसीबोका खरिद गर्ने भए पनि दसै‌ सुरु नहुँदै खसीबोकाको बिक्री खुला गरेपछि व्यापारीले सस्तोमा खरिद गरी महँगोमा बेच्ने सम्भावना रहेको छ । दसैंमा बजारमा खसीबोकाको कारोबार बढी हुने भएकाले व्यापारीले मनपरी मूल्यमा बिक्री गर्ने हुँदा त्यसलाई नियन्त्रण गर्नका लागि संस्थानले प्रत्येक वर्ष खसीबोका बिक्री गर्दै आएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...