विपक्षी पार्टीले फिरौती मागेको ओबामाको टिप्पणी

१६ असोज । अमेरिकी राष्ट्रपति बाराक ओबामाले विपक्षी रिपब्लिकन पार्टीले बजेट पारित गर्न नदिएर फिरौती मागेको टिप्पणी गरेका छन् ।


ओबामाको स्वास्थ्य विमा सम्बन्धि योजना लागू गर्न नदिन रिपब्लिकनले नयाँ बजेट नै पारित नगरिदिएपछि रुष्ट बनेका उनले विपक्षीप्रति कडा टिप्पणी गरेका हुन् । अमेरिकी सिनेटमा नयाँ बजेटमा सहमति जुट्न नसकेपछि सरकारी कामकाजमा भने असर पर्न थालेको छ ।

अमेरिकामा १७ वर्षपछि सरकारी कामकाज आशिंक रुपमा बन्द भएको हो । पैसा नभएर सरकारी काममा असर पर्न थाले पनि ओबामा भने रिपब्लिकनसँगै स्वास्थ्य नीतिमा कुनै सम्झौता नगर्ने मूडमा देखिएका खबरहरुमा उल्लेख छ । अत्यावश्यकबाहेकका सबै काम र चिजवस्तुमा हुने खर्च रोक्न थालिइसकेको छ । लाखौंलाख अमेरिकीलाई सस्तो स्वास्थ्य सेवा उपलब्ध गराउने सरकारी योजना रोकेर विपक्षीले फिरौति खोजेको आरोप ओबामाको छ ।


उता रिपब्लिकनमै भने पार्टीको पछिल्लो रवैयाप्रति विवाद भएको खबर छ । राष्ट्रपति बाराक ओबामाले अन्तिम समयसम्म गतिरोध अन्त्य गर्न अपील गरेपनि रिपब्लिकनहरु सहमत नभएका हुन् । योसँगै अमेरिकी राष्ट्रपति कार्यालयले संघीय निकायहरुलाई काम बन्द गर्न आदेश पठाउन शुरु गरेको छ । सरकारी काम बन्द भएसंगै सात लाखभन्दा बढी संघीय सरकारी कर्मचारीलाई बेतलबी छुट्टी दिइएको छ ।


राष्ट्रिय निकुञ्जहरु, वासिङटनको संग्रहालय बन्द हुने छन् भने सरकारी पेन्सन, जेष्ठ नागरिकलाई दिइने सुविधामा पनि ढिलाई हुने छ । यस्तै भिसा र पासपोर्टका लागि दिइएका निवदेनहरु अगाडि बढाइने छैनन् । सरकारी काम बन्द भएपनि सेनाका लागि बजेट दिन सकिने विधेयकमा भने ओबामाले हस्ताक्षर गरिसक्नु भएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...