मनोनयन दर्ता सम्पन्न, दर्ता सूची शुक्रबार प्रकाशित हुने

१७ असोज । संविधानसभा चुनावको प्रत्यक्षतर्फका उम्मेदवारहरूले विहीबार निर्वाचन कार्यालयमा आ–आफ्नो मनोनयन दर्ता गराएका छन् ।

प्रमुख दलका प्रत्यक्षतर्फ टिकट पाएका उम्मेदवारहरू निर्वाचन कार्यालय पुगी मनोनयन दर्ता गराएका हुन् ।

काठमाडौं क्षेत्र नम्बर १० बाट एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मनोनयन दर्ता गराउनुभएको छ । सोही क्षेत्रमा अध्यक्ष प्रचण्डलाई थप्पड हान्ने बाग्लुङका पदम कुँवरले समेत स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । त्यस्तै, काठमाडौंको क्षेत्र नम्बर एकबाट नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंह, क्षेत्र नम्बर दुई बाट एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, क्षेत्र नम्बर ३ मा एकीकृत माओवादीका तर्फबाट गणेश रेग्मीले उम्मेदवारी दर्ता गराउनुभएको छ । रेग्मीको बागीमा गणेशबहादुर तामाङले उम्मेदवारी दिनुभएको छ ।

त्यसैगरी, क्षेत्र नम्बर ४ बाट एकीकृत माओवादी नेता नन्दकिशोर पुन, कांग्रेस नेता गगन थापा र एमाले नेता निर्मल कुइँकेलले मनोनय दर्ता गराउनुभएको छ । त्यस्तै, काग्रेस परित्याग गरेकी शुप्रभा घिमिरेसमेत मैदानमा उत्रिनुभएको छ । क्षेत्र नम्बर ५ बाट एमाले महासचिव इश्वर पोखरेल र कांग्रेस नेता नरहरी आचार्यले मनोनयन दर्ता गराउनुभएको छ । क्षेत्र नम्बर ६ बाट एकीकृत माओवादीका हिमाल शर्मा र एमाले नेता योगेश भट्टराईले मनोनयन दर्ता गराउनुभएको छ ।

निर्वाचन आयोगको कायतालिकाअनुसार विहीबार ७५ वटै जिल्ला निर्वाचन कार्यालयमा प्रत्यक्ष तर्फका उम्मेदवारको मनोनयन दर्ता गरिएको हो । बिहान १० बजेबाट सुरु गरेको दर्ता प्रक्रिया बेलुकी ५ बजेसम्म चलेको थियो । प्रत्यक्षतर्फ विहीबार दर्ता भएका मनोनयनको सूची शुक्रबार प्रकाशित गरिनेछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...