अनुमति नलिई हेलिकोप्टर प्रयोग नगर्न प्रचण्डलाई निर्देशन

१४ कार्तिक । निर्वाचन आयोगले आफूसँग अनुमति नलिई हेलिकप्टर प्रयोग नगर्न एमाओवादी अध्यक्ष्ँ पुष्पकमल दाहाललाई निर्देशन दिएको छ ।

आयोगको विहीबार बसेको बैठकले आयोगसँग अनुमति लिएर मात्रै हेलिकोप्टर प्रयोग गर्न निर्देशन दिएको हो । बुधबार काभ्रे र दोलखाको चुनावी सभा सम्बोधन गर्न दाहालले आयोगको स्वीकृति बेगर हेलिकप्टर चार्टर गरेको आयोगले जनाएको छ ।
आयोगले निर्वाचन आचार संहिता विपरीत अन्य दललाई चुनावी प्रचारमा अवरोध गरेको भन्दै एकीकृत माओवादीलाई अवरोध नगर्न ध्यानाकर्षणसमेत गराएको छ ।
आयोगले निर्वाचन आचार संहिता विपरीत चुनाव प्रचारमा दुई भन्दा बढी गाडी प्रयोग गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई स्पष्टीकरण सोध्ने भएको छ । थापालाई तीन दिनभित्र लिखित जवाफ आयोगमा पठाउन आयोगले निर्देशन दिएको हो । निर्वाचन आयोगले आचारसंहिता विपरीतका गतिविधि दोहोरिएमा वा जारी राखेमा आयोगको ऐन अनुसार कारबाही गर्ने जनाएको छ ।
निर्वाचन ऐन ०६३ को दफा २९ मा निर्वाचन आचार संहिता विपरीतका काम दोहोरिएमा उम्मेदवारी रद्द गर्न सक्नेसम्मको व्यवस्था छ । आचार संहिता उल्लंघनका घटना बढ्दै गएपछि आयोगले आचार संहिता उल्लंघन गर्नेलाई कारबाही पनि थालेको छ । आचार संहितामा तोकेभन्दा बढी सवारी साधन चुनावी प्रयोजनका लागि प्रयोग गरेको भन्दै आयोगले मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदार र होर्डिङबोर्ड प्रयोग गरेकोमा एमाओवादीका उम्मेदवार रेणु दाहाललाई स्पष्टीकरण सोधिसकेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...