महाअष्टमीमा महागौरी देवीको आराधना सम्पन्न, शक्तिपिठहरुमा बली चढाउने र पूजा आराधना गर्नेको भिड

आज नवरात्रको आठौं दिन, अर्थात् महाअष्टमी । आज महागौरी देवीको पुजा आराधना गरियो । आज दसैंघर र कोतलगायत देशभरका विभिन्न शक्तिपीठमा बली दिएर देवीको पूजा आराधना गरिएको छ ।

काठमाडौं उपत्यकाका दक्षिणकाली, गुहेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराही, गोरखाको मनकामना, सल्यानको खैरावाङ भगवती मन्दिर, डडेलधुराको उग्रतारालगायतका शक्तिपीठमा विहानैदेखि बली चढाउने र पूजा आराधना गर्नेको भीड लागेको छ ।

त्यस्तै, तराईका विभिन्न ठाउँमा दुर्गा पूजा एवम् नवरात्री पूजा गरेर यो पर्व धुमधामका साथ मनाइएको छ । विजया दशमीका अवसरमा धनुषाको जनकपुरधामस्थित राजदेवी मन्दिर, सप्तरीको छिन्नमस्ता र सखडास्थित शक्रेश्वरी भगवती, भारदहस्थित कंकालनी भगवती, सिरहाको मिर्चैयास्थित दुर्गा मन्दिर, वीरगञ्जको माइस्थान मन्दिर, नेपालगन्जको बागेश्वरी मन्दिरलगायतका मन्दिरमा पनि शक्तिरूपा देवी भगवतीको पूजा गरिन्छ ।

आजै दसैंघर र जमराकोठमा दुर्गाभवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकस्वरूप चामल, द्रब्य, जनै, सुपारी, फलफूल र नैबेधसहितका नौ वटा थुप्रामा दुर्गापूजा गर्नुका साथै कलपूर्जा, हतियार र सवारी साधनलाई सफा–सुग्घर गरी बलीसहित पूजा गरिन्छ । पशुबली नचढाउनेले आज जमराकोठामा घिरौंला, कुभिन्डो, मुलाआदिको बली दिई दुर्गाभवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...