दशैंको सातौँ दिन आज दशैं घरमा फूलपाती भित्र्याइयो

दशैंको सातौं दिन आज आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरिएका दशैंघर तथा शक्तिपीठहरूमा आज भगवती कालरात्रिको पूजा आराधना गरिएको छ । नवरात्रका नौ दिनसम्म दुर्गाका एक–एक स्वरूपको पूजा आराधना गर्ने परम्पराअनुरूप नवदुर्गाको सातौ रूप कालरात्रि देवीको आराधना गरिएको हो ।

हिन्दू धर्मावलम्बीहरूले नौ दिनसम्म दशैंघरमा दुर्गा सप्तशती चण्डी र देवी माहात्म्य पाठ गरी शक्तिस्वरूप भगवतीको आराधना गर्दछन् । त्यस्तै, आजपनि देशभरका शक्तिपीठहरूमा पूजा अर्चनाका लागि घुइ“चो लागेको छ । काठमाडौंमा गुहेश्वरी, नक्साल भगवती, भद्रकालीलगायतका शक्तिपीठमा पूजा अर्चना गरिएको छ

नवरात्र अन्तर्गत बडादशैंको आज सातौं दिन, आज दशैंघर तथा शक्तिपीठहरूमा नवपत्रिका अर्थात् फूलपाती भित्र्याइएको छ । केरा, दाडिम, धान, मानक, कर्चुर, बेसार, बेल, अशोक, जयन्तीका पत्रहरू अपराह्नमा भित्र्याई देवीको पूजा गर्ने परम्परा छ । फूलपातीकै अवसरमा गोरखा दरवारबाट धादिङको जीवनपुर हुँदै काठमाडौ ल्याइएको फूलपाती हर्षबढाइं सहित हनुमानढोका दशैंघरमा भित्र्याइएको छ ।

यता फूलपातीका अवसरमा बढाइं तथा कवाज प्रदर्शन गर्ने नेपाली सेनाको परम्परा रहेअनुसार यहि परम्परालाई निरन्तरता दिंदै आज सेनाले टुँडिखेल सैनिक मञ्चमा हर्षबढाइं गरेको छ ।

फूलपातीकै अवसरमा बाँकेको नेपालगञ्जको बागेश्वरी मन्दिरमा पनि आज फूलपाती भित्राइएको छ ।

आज बिहानै नेपाली सेना , शसस्त्र प्रहरी र नेपाल प्रहरीले फुलपातीको अवसरमा बोगेश्वरी मन्दिरमा पूजाअर्चना गर्नुका साथै हर्षबढाईं गरी फूलपाती भित्र्याएको हो । ब्याण्णड टोलि सहित बागेश्वरी पुगेका सुरक्षा निकायका अधिकारीहरूले विधिपूर्वक पूजा गरी फुलपाती भित्राएका थिए ।

बडादशैको अवसरमा बागलुङ कालिका मन्दिरमा नवदुर्गा सुरु भएदेखि पुजा गर्ने भक्तजनको घुइंचो लागेको छ ।

पश्चिमाञ्चलकै ठूलो शक्तिपीठको रूपमा रहेको कालिका मन्दिरमा पूजा गर्न पर्वत, म्याग्दीलगायत देशका विभिन्न जिल्लाहरूबाट हजारौं दर्शनार्थी आएको मन्दिर व्यावस्थापन समितिले जनाएको छ । कालिका मन्दिरमा नवदुर्गाका अवसरमा नौ दिन सम्म रांगा, बोका हास, कुखुरा, परेवा आदिको पनि बली चढाउने प्रचलन रहेको छ । कालिका देवीको पूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका कारण बर्षेनि हजारौ भक्तजनहरू मन्दिरको दर्शन गर्ने गर्दछन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...