आपराधिक घटनामा संलग्न एक जना पक्राउ

१६ कार्तिक । जिल्ला प्रहरी कार्यालयको टोलीले विभिन्न आपराधिक घटनामा संलग्न जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समूहका एक जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

महोत्तरीको बथनाहा–४ का २७ वर्षीय अजय मुक्ति भनिने दीपक सिंहलाई धनुषाकै जब्दीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । सिंह धनुषा र महोत्तरीमा भएका आपराधिक गतिविधिमा शूटरको रुपमा प्रयोग हुँदै आएको प्रहरीले जनाएको छ । सिंहले २०६५ साल मंसिर ३० गते आन्तरिक राजश्व कार्यालय धनुषामा कार्यरत कर्मचारी कुमार निरौलाको हत्या गरेको तथा सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय मुजेलियामा कार्यरत प्रहरी हबल्दार मंगल हरिजनको गोली हानी हत्या गरेको आरोप छ । गत बैशाख ३० गते जानकी मेडिकल कलेजका सञ्चालक अशोक सिंहका सहायक उपेन्द्र ओझामाथि गोली प्रहारको घटनामा पनि सिंहको संलग्नता रहेको धनुषा प्रहरीको दाबीे छ । सिंहमाथि कर्तव्यज्यान सहित लागूऔषध ओसारपोसारको मुद्दा चलाइने धनुषा प्रहरीले जनाएको छ । सिंहबाट ९ एमएमको पेस्तोल १ थान, म्याग्जिन २ थान, मोबाइल २ थानसहित लागूऔषधको रुपमा प्रयोग हुने विभिन्न प्रतिबन्धित औषधी प्रहरीले बरामद गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...