आमहड्ताल फिर्ता लिन नागरिक अगुवाहरुको आग्रह

२४ कार्तिक । नागरिक अगुवाहरुले चुनावलाई लक्षित गरी सोमबारदेखि गर्न लागेको आमहड्ताल फिर्ता लिन नेकपा–माओवादीलाई आग्रह गरेका छन् ।

नेकपा–माओवादीले गर्न लागेको भनिएको आमहड्तालको पूर्वसन्ध्यामा पेशागत संगठन पापडले काठमाडौंमा गरेको कार्यक्रममा उनीहरुले जनताको मानवअधिकार नै हनन् हुने गरी आमहड्ताल नगर्न आग्रह गरेका हुन् । कार्यक्रममा मानवअधिकारकर्मी सुदीप पाठकले नेकपा–माओवादीलाई बन्द गर्ने अधिकार नभएको बताउनुभयो । सबै समस्याको समाधान वार्ताबाट हुने भन्दै उहाँले सरकार जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो ।
नेपाल बार एसोसिएसनका उपाध्यक्ष टिकाराम भट्टराईले बन्द गर्न पाउने राजनीतिक अधिकार भएपनि बन्द शान्तिपूर्ण हुनुपर्ने बताउनुभयो । बार सधै विधिको शासनको पक्षमा रहेको भन्दै उहाँले बन्दले हिंसात्मक रुप लिन नहुने बताउनुभयो ।
यसैगरी नागरिक अगुवा डाक्टर सुन्दरमणि दीक्षीतले चुनाव बहिस्कार गर्न पाउने अधिकार भएपनि बन्द गर्नु नागरिकका पक्षमा नभएको बताउनुभयो ।
दोस्रोपटक हुन लागेको संविधानसभाको चुनावको समग्र प्रक्रियाको विरोध गर्दै आएको नेकपा–माओवादीले सोमबारदेखि आमहड्ताल लगायतका विरोधका कार्यक्रम तय गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...