अखाद्य पदार्थको मिसावटमा कमी आएको विभागको दाबी

१६ कार्तिक । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनका कारण खाद्य पदार्थमा अखाद्य रङ्ग हाल्ने प्रबृत्तिमा सुधार आएको दाबी गरेको छ ।


विभागले असोज महिनामा गरेको अनुगमन प्रगतीबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक जीवनप्रभा लामाले खाद्य पदार्थमा अखाद्य रङ्ग हाल्ने व्यवसायीलाई कारबाही गरेपछि त्यस्तो प्रबृत्तिमा कमी आएको बताएकी हुन् ।


उनले गत वर्षको तुलनामा यस वर्ष प्रभावकारी बजार अनुगमन गरिरहेको दाबी पनि गरिन् । विभागले असोज महिनामा ६६ पटक बजार अनुगमन गरेकोमा १ सय ३१ स्थानमा अखाद्य खाद्यान्न जफत एवं नष्ट गरेको जनाएको छ । यस अवधिमा २५ वटा खाद्य उद्योग निरीक्षण गरेको, १ सय ३५ वटा होटल, रेष्टुरेन्ट निरीक्षण गरिएको र २२ वटा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।


अनुगमनकै क्रममा विभागले नेपाल खाद्य संस्थान कै नख्खु खाद्य भण्डारमा रहेको २४ सय ५० किलोग्राम गुणस्तरहिन चामल नष्ट गरेको छ । यस अवधिमा टेकुस्थित रोशी प्रोडक्टस्, मोहन भण्डार थापाथली, माउन्ट भ्यू थकाली भान्सा हेटौडा सिलबन्दी गरिएको विभागले जनाएको छ । तिहारको बेलामा पनि बजार अनुगमनलाई प्रभावकारी रुपमा तीब्रता दिने विभागले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...