चुनावको विरोध गरी बन्द–हडताल गर्नेलाई कारबाही गर्ने सरकारको चेतावनी

२१ कार्तिक । सरकारले चुनावको विरोध गरी बन्द हडताल गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

सिंहदरबारमा विहीबार बसेको मन्त्रिपरिषद् बैठकले आह्वानपत्र जारी गर्दै चुनावविरोधी गतिविधि गर्नेलाई कारबाहीको चेतावनी दिएको हो । मन्त्रिपरिषद् बैठकले चुनाव क्रममा सर्वसाधारणको जिउधनको पूर्ण सुरक्षाको व्यवस्था गरिएको जनाएको छ । बैठकले यातायात लगायत आपूर्ति व्यवस्था सहज गराउन गृहमन्त्री माधवप्रसाद घिमिरेको संयोजकत्वमा ५ सदस्यीय मन्त्रिस्तरीय समिति गठन गरेको छ ।

समितिमा मन्त्री घिमिरेसहित अर्थमन्त्री शंकरप्रसाद कोइराला, भौतिक योजना, निर्माण तथा यातायात व्यवस्थामन्त्री छविराज पन्त, संघीय मामिला तथा स्थानीय विकासमन्त्री विद्याधर मल्लिक र कृषिविकासमन्त्री टेकबहादुर घर्ती हुनुहुन्छ । बन्द हडतालका अवधिमा सञ्चालित यातायातका साधनमा क्षति पुगेका अवस्था हेरी २५ हजार देखि क्षतिको ९० प्रतिशतसम्म राहत दिने पनि निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले आजैबाट राजमार्गको सुरक्षा थप सुदृढ बनाएको जानकारी दिएको छ । त्यस्तै छठको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने र दुग्ध विकास संस्थानका महाप्रबन्धक सियारामप्रसाद सिंहको राजीनामा स्वीकृत गर्ने पनि निर्णय गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...