संविधान सभा अदालतको अध्यक्षमा कल्याण श्रेष्ठ

२६ कार्तिक । संविधानसभा निर्वाचन सम्वन्धी उजुरीको सुनुवाई गर्नका लागि गठन हुँने संविधानसभा अदालतको अध्यक्षमा सर्वोच्च अदालतका न्यायाधीश कल्याण श्रेष्ठ तोकिएको छन् ।


न्याय परिषदले सोमवार श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय इजलास गठन गर्नेगरी न्यायाधीश तोकेको हो । अदालतका अन्य सदस्यमा न्यायाधीशद्धय गिरीशचन्द्र लाल र सुशीला कार्की छन् । अदालतले संविधानसभा निर्वाचनमा उम्मेद्वारको अयोग्यता, निर्वाचन बदर र अन्य निर्वाचन कसुर गरी तीन बिषयका उजुरीमा सुनुवाई गर्ने क्षेत्रधिकार राख्छ । संविधानसभा अदालत ऐन ०६४ अनुसार परिषदले तीन न्यायाधीशलाई निश्चित अवधिका लागि उजुरी सुनुवाई गर्नेगरी सिफारिस गरेको हो ।

सरकारको औपचारिक निर्णयपछि राजपत्रका सूचना प्रकाशन गरी अदालतले काम कारवाही सुरु गर्नेछ । उजुरीको सुनुवाई सकिएपछि राजपत्रमा सूचना प्रकाशित गरी सरकारले अदालतले बिघटन गर्न सक्नेछ ।

अदालतले संक्षिप्त कार्यविधि ऐन ०२८ अनुसार आफ्नो कार्यविधि निर्धारण गर्नेछ । कम्तीमा दुई न्यायाधीशले उजुरीमा सुनुवाई गर्नेछन् । उजुरी परेको तीन महिनासम्म उजुरी छिनोफानो गर्नुपर्ने म्यान्डेट अदालतलाई छ । प्रधानन्यायाधीशसँग सपथ ग्रहणपछि अध्यक्षसहितका सदस्यले औपचारिक रुपमा कार्यभार सम्हाल्ने कानूनी व्यवस्था छ ।

यसअघि ०६४ को संविधानसभा निर्वाचनपछि तत्कालिन न्यायाधीश अनुपराज शर्माको अध्यक्षतामा अदालतको गठन भएको थियो । कुल १८ उजुरीमा १७ उजुरीको छिनोफानोपछि अध्यक्षसहितका सदस्यले अवकाश पाएका थिए । एउटा उजुरी छिनोफानो गर्नेगरी पुनः हाल कायम मुकायम प्रधानन्यायाधीश रहेका दामोदरप्रसाद शर्माको अध्यक्षतामा तीन सदस्यीय इजलास गठन गरिएको थियो । ताहिर अली अन्सारी र प्रेम शर्मा सदस्य रहेको उक्त इजलासलेसमेत उक्त उजुरीको छिनोफानो गरेन । प्रेम शर्मा र अन्सारीले अवकाश पाएपछि उक्त उजुरीको छिनोफानो भएको थिएन । उक्त उजुरी तत्कालिन मधेशी जनअधिकार फोरम नेपालका तर्फबाट संविधानसभा सदस्य रहेका जयप्रकाश प्रसाद गुप्ता बिरुद्ध रहेको थियो । पछि उनले आफै पार्टी फुटाएर फोरम गणतान्त्रिक गठन गरेका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...