सभासद् चनयनको विषयलाई लिएर राप्रपा नेपालभित्र तीब्र विवाद

२७ मंसिर । सभासद चयनलाई लिएर राप्रपा नेपालभित्रको विवाद चुलिएको छ । समानुपातिक सभासद चयनका लागि अध्यक्ष कमल थापाले मनोमानी गरेको आरोपसहित असन्तुष्ट पक्षले गरेको उजुरीमाथि छानबिन गर्न निर्वाचन आयोगले केन्द्रीय कार्यसमितिको निर्णय पुस्तिका झिकाउने भएको छ ।

प्रत्यक्षतर्फ कुनै सिट प्राप्त नभए पनि समानुपातिकतर्फ २४ सिट पाएको राप्रपा नेपालमा संविधानसभा गठन प्रक्रिया पूरा नहुँदै विवाद छताछुल्ल भएको हो । असन्तुष्ट पक्षले केन्द्रीय कार्यसमितिको निर्णयबिनै अध्यक्ष थापाले सभासद पदका लागि आफूसहित २४ जनाको सूची आयोगमा बुझाएको दाबी गरेका हुन् । निर्वाचन कानुनअनुसार दलले पाएको सिटमा बन्दसूचीबाट विजयी उम्मेदवार सिफारिस गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई छ ।

पार्टी केन्द्रीय सदस्य एवं प्रेस प्रमुख मोहन श्रेष्ठले केन्द्रीय कार्यसमितिको निर्णयअनुसारको सूची नै आयोगमा बुझाएको दाबी गरे । सबै पक्षीय छलफल, विधि र प्रक्रियाअनुसारै सभासद सिफारिस गरेको हो, उनले भने, केन्द्रीय कार्यसमितिले गरेको निर्णय अन्यथा हुँदैन । केन्द्रीय सदस्य श्यामप्रसाद तिमल्सिनासहितका नेताहरूले भने केन्द्रीय कार्यसमितिबाट सभासद छनोटसम्बन्धी निर्णय नै नभएको दाबी गरेका छन् ।

हामीले अध्यक्षज्यूकै नेतृत्वमा केन्द्रीय समितिको बैठक बसेर आवश्यक र उचित निर्णय गरौं भन्ने माग गरिरहेका छौं, उनले भने, उपत्यकाबाहिर रहेका केन्द्रीय सदस्यहरूलाई पनि राजधानी बोलाएका छौं । हाम्रो मागको सुनुवाइ नभए बहुमत सदस्यले निर्णय गरी आयोगमा पठाउँछौं ।

तिमल्सिना, अधिवक्ता बालकृष्ण न्यौपाने, सहायक महामन्त्री प्रह्लाद साहसहितका १७ केन्द्रीय सदस्यले आयोगमा बुझाएको उजुरीमा अध्यक्ष थापाको सिफारिसको वैधतामाथि प्रश्न उठाए पनि अर्को सिफारिस गरिएको छैन । पार्टीभित्र तीव्र विवाद भइरहेका बेला अध्यक्ष थापा भने टेनिस प्रतियोगितामा सहभागी हुन भारत गएका छन् । सिनियर टेनिस च्याम्पियनसिपमा भाग लिएर उनी सोमबार मात्र काठमाडौं फर्कने छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...