विपक्षी दलबाट शान्ति वार्ता अस्वीकार

२७ मंसिर । युक्रेनका राष्ट्रपति भिक्टर यानुकोभिचले गरेको शान्तिवार्ताको आव्हानलाई आन्दोलनरत् विपक्षी दलले अस्वीकार गरेका छन् ।

शान्तिपूर्ण आन्दोलन गरिरहेको दलको कार्यालयमा सरकारी सुरक्षा दस्ताले छापा मारेर तोडफोड गरेपछि विपक्षीहरु झनै आक्रोशित भएका हुन् । राष्ट्रपति यानुकोभिचले शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग नगर्ने पनि बताएका छन् । युरोपेली युनियनसँगको खुल्ला व्यापार सम्झौता तोड्ने सरकारी निर्णयको विरोधमा केही सातादेखि युक्रेनमा तनाव बढेको हो । युरोपियन युनियनसँगको सहकार्यलाई निरन्तरता दिनुपर्ने प्रदर्शनकारीहरुको माग छ । तर सरकार र छिमेकी देश रुस भने त्यसको विपक्षमा रहेका छन् ।
यसैबीच अमेरिकी राज्य विभागले युक्रेनमा जारी राजनैतिक संकट समाधानको बारेमा सबै पक्षबाट विचार गरिरहेको जनाएको छ । राज्य विभागले राजनैतिक संकट समाधानका लागि युक्रेनमाथि प्रतिबन्ध लगाउने कुरामा पनि विचार भइरहेको बताएको छ । युक्रेनी सुरक्षा फौजले सरकार बिरोधी प्रदर्शनकारीमाथि बुधबार दमन गरेको आरोप लागिरहेको बेला अमेरिकाको यस्तो धारणा आएको हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...