भीमेश्वर शीलाको पसिना पुछेको कपास राष्ट्रपति कार्यालय ल्याइयो

२ पुस । दोलखास्थित भीमेश्वरको शीलामा आएको पसिना पुछेको कपास माहाप्रसादको रुपमा सोमबार राष्ट्रपति कार्यलयमा ल्याइएको छ । भिजेको कपासले लाभ हुने र असुरक्षाबाट बच्ने जनविश्वास रहेको छ ।

आइतबार पूजारीहरुले भीमसेनलाई पसिना आएको खबर गरेपछि स्थानीयवासीले घण्ट, शंख र नगराहरु बजाएर लगातार पूजा गरे । भीमसेनलाई पसिना आउँदा अनिष्ट हुने आशंकामा पूजारी र स्थानीयले यसरी पूजाअर्चना गरेका हुन् । गुठियार भगवानदास श्रेष्ठका अनुसार भीमसेनको प्रतिमामा आइतबार दिउँसो पौने तीन बजेदेखि साँझ पाँच बजेसम्म पसिना आएको गुठियार भगवानदास श्रेष्ठ र टिकानारायाण श्रेष्ठले जनाउनुभयो ।

लगातार तीन घण्टाको पूजापछि पसिना आउन छाडेको गुठियारहरुले बताएका छन् । १९९० सालको भुकम्प र २०६२÷६३ को जनआन्दोलनका बेला पनि दोलखा भीमसेनलाई पसिना आएको थियो । देशमा अनिष्ट वा परिवर्तनका पूर्व संकेतस्वरुप पसिना आउने विश्वास स्थानीयको छ । यसरी पसिना आउदा पुछिएको कपासलाई राजाको शासनका बेला राजदरबार र प्रजातन्त्र प्राप्तिपछि राष्ट्र प्रमुखलाई पठाउने गरिएको छ । राजतन्त्र हुँदा दोलखा भीमसेनलाई पसिना आए राजा आफैं मन्दिरमा पुगेर पूजाअर्चना गर्ने गरेपनि अहिले स्थानीय प्रशासनले पसिना आएकोबारे राष्ट्रपति कार्यालयलाई जानकारी गराएको छ ।

आइतबार शीलाको चारैतिरबाट पानीका थोपाहरु झर्दै गएपछि परम्परा अनुसार मन्दिरका घण्टा बजाइएको थियो । दोलखाका धर्म, संस्कृति र इतिहासको अध्ययन गर्दै आएका शान्तकृष्ण श्रेष्ठका अनुसार १९९० सालयता भीमेश्वरमा पसिना आउन थालेको हो । जब पसिना आउन थाल्छ, भीमेश्वरको कालो शीला खैरो हुँदै जान्छ । त्यसपछि क्रमिक रुपमा शीलाको माथिल्लो भागमा पानीका थोपाहरु देखिदै झर्न थाल्छन् । यो दृश्य प्रकट हुनेवित्तिकै घण्टाहरु बजाएर सर्वसाधारणलाई जानकारी गराइन्छ । घण्टाको आवाज आउने बित्तिकै मानिसहरु दर्शन गर्न र कपासका टुक्रा लिन मन्दिरमा घुइँचो लाग्छ ।

यो पटक पनि साँझसम्म कपास लिन पर्खेका दर्शनार्थीलाई प्रहरीको सहायताले मात्रै पास बाँडीएको थियो । मन्दिरमा भेला भएका दर्शनार्थीले धुप बालेर पसिना नरोकिएसम्म प्रार्थना गरिरहेका थिए । भीमेश्वरको शीलामा १९९० सालयता १९९७, २००७, २०११ हुँदै अहिलेसम्म ११ पटक पसिना आइसकेको छ

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...