विकासका लागि शिक्षा र उद्योग व्यवसायको सहकार्य आवश्यकः रेग्मी

२८ मंसिर । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले समग्र देशको विकास गर्न शिक्षा र उद्योग व्यवसायको सहकार्य जरुरी रहेको बताउनुभएको छ ।

शुक्रबार काभ्रेको धुलिखेलमा काठमाडौ विश्वविद्यालयको १९ औं दीक्षान्त समारोहमा अध्यक्ष रेग्मीले कुनै पनि देशको विकास शिक्षा र उद्योग–व्यवसायबीचको सहकार्यबाटै हुने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको विकासका लागि राज्य लागि रहेपनि प्रयाप्त नभएको बताउनुभयो । कार्यक्रममा विश्वविद्यायलले गुणस्तरीय शिक्षा प्रदान गरेकोमा प्रशंसा गर्दै उत्पादित जनशक्तिलाई सामाजिक विकासमा लाग्न अनुरोधसमेत गर्नुभयो । रेग्मीले दीक्षितहरूलाई देशको परिस्थितिसँग निराश नहुन सुझावसमेत दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि चीनको हेबेइ युनिभर्सिटी अफ इकोनोमिक्स एण्ड विजिनेसका प्रेसिडेन्ट प्राध्यापक डाक्टर जि। लियाङगङले जिम्मेवार नागरिक बन्न दीक्षितहरूलाई आग्रह गर्नुभयो । समारोहमा विभिन्न संकायका २ हजार ५२ जनालाई दीक्षित गरिएको थियो ।
यसैबीच, मन्त्रिपरिष्द अध्यक्ष खिलराज रेग्मीले अपांगता भएकाहरूका लागि रोजगारको व्यवस्था गरिने बताउनुभएको छ । २२ औं अन्तर्राष्ट्रिय अपांगता दिवसको सन्दर्भमा शुक्रबारबाट काठमाडौमा सुरु भएको अपांगता भएकाहरूका लागि रोजगार मेला उद्घाटनमा अध्यक्ष रेग्मीले उनीहरूको क्षमताका आधारमा रोजगारका लागि पहल गरिरहेको बताउनुभएको हो । उहाँले अपांगता भएकाहरूको सीप र क्षमता अभिवृद्धिका लागि पनि सरकारले उचित व्यवस्था गरिरहेको बताउनुभयो । कार्यक्रममा महिला तथा समाजकल्याणमन्त्री ऋद्धिबाबा प्रधानले अपांगता भएकाहरूका लागि सबै सरकारी कार्यालयमा विशेष कोटा रहेकाले त्यसैअनुरूप तयारी हुनुपर्ने बताउनुभयो । समाजकल्याण मन्त्रालयको सहयोगमा राष्ट्रिय अपांग महासंघले आयोजना गरेको यो मेला एक साता चल्नेछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...