राष्ट्रपति फेर्ने वा नफेर्ने भन्ने विषयमा दलहरुबीच मतभिन्नता

काठमाडौँ, २८ मंसिर । संविधानसभामा ठूला दलका रूपमा स्थापन भएका कांग्रेस र एमालेबीच सरकारको नेतृत्व गर्ने विषयमा अझै कुरा मिल्न सकेको छैन । ‘सहमतिका लागि राष्ट्रपति पदको नयाँ निर्वाचन’ एमालेको अडान कायम छ भने कांग्रेसले पनि सरकारको नेतृत्व दाबी गर्दै राष्ट्रपति परिवर्तन नगर्ने सर्तलाई यथावत् राखेको छ ।

सबै प्रक्रिया नयाँ भएकाले राष्ट्रपति, उपराष्ट्रपति पदको निर्वाचन पनि नयाँ हुनुपर्ने एमालेको जोड छ । एमाले केन्द्रीय समितिको बैठकमा पनि नयाँ निर्वाचनमा जानुपर्ने एकमत कायम भयो तर कांग्रेसले भने एमालेको मतमा सहमति जनाए एक वर्षमा संविधान जारी हुन नसक्ने जनाउँदै आएको छ ।

कांग्रेसका नेता अर्जुननरसिंह केसीले राजनीतिक दलहरूले प्रतिबद्धता मुताबिक एक वर्षभित्र संविधान निर्माण गर्ने भए राष्ट्रपति र उपराष्ट्रपतिको विषयलाई थाँती राख्नुपर्ने बताए ।
केसीले संविधानसभाको निर्वाचनपछि आफ्नो दल ठूलो दलको रूपमा स्थापन भएको अवस्थामा आपूmहरूले संयोजन गरेर सबै राजनीतिक दललाई सहमतिका साथ सरकारमा सहभागी गराउने प्रयत्न रहने बताए । उनले भने, ‘एक वर्षभित्र संविधान निर्माण गरेर प्रक्रियागत रूपले कसरी अगाडि बढ्ने हो बढौँ, अहिले राष्ट्रपति र उपराष्ट्रपतिको विषयमा प्रवेश गर्नुहुन्न भन्ने कांग्रेसको दृष्टि हो ।’
एक वर्षभित्र मुलुकले नयाँ संविधान पाउने गरेर सहमति जुटाउने र सहमति जुटाउन नसके दुईतिहाइको प्रक्रियाबाट संविधान निर्माण गर्ने प्रयास हुने उनले बताए ।
उता, एमालेका नेता भीम आचार्यले सबै मिलेर देश बनाउनुको विकल्प नभएको उल्लेख गर्दै सबै दलको सहमतिबाट मात्रै संविधान निर्माण गर्नुपर्ने बताए ।
उनले नयाँ जनादेश अनुसार राष्ट्रपति र उपराष्ट्रपति पनि नयाँ हुनुपर्ने उल्लेख गर्दै एक वर्षभित्र सहमतिका आधारमा संविधान निर्माण गर्ने र नभए प्रक्रियाबाट भए पनि संविधान निर्माण गरेर मुलुकलाई निकास दिनुपर्ने बताए । उनले समग्र प्रक्रियालाई हेरेरै राष्ट्रपतिको नयाँ निर्वाचन हुनुपर्ने बताए ।

एमाओवादीका पोलिटब्युरो सदस्य देवेन्द्र पौडेलले अन्तरिम संविधानमा पनि सहमतिबाट मात्रै संविधान निर्माण गर्ने उल्लेख भएकाले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै विवाद भएका विषयहरू आगामी एक वर्षभित्र सहमतिबाटै टुंग्याउनुपर्ने बताए ।
उनले नयाँ प्रक्रिया सुरु भएकोले राष्ट्रपति परिवर्तनको पक्षमा एमाओवादी रहेको पनि उल्लेख गरे । उनले भने, ‘सहमतिबाट काम हुनुपर्छ तर राष्ट्रपति नयाँ नै हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...