सरकारी विद्यालयको पठनपाठन नाजुक

३ पुस । धनुषा जिल्लाका सरकारी विद्यालयहरुको पठनपाठनको अवस्था चिन्ताजनक बनेको छ । जिल्ला शिक्षा कार्यालयद्वारा सरकारी विद्यालयहरुको अनुगमनका क्रममा सो अवस्था पाइएको हो । कतिपय विद्यालयहरु बन्द अवस्थामा रहेको, खुलेका विद्यालयहरुमा शिक्षकहरु अनुपस्थित रहेको, विद्यालयका प्रधानाध्यापक उपस्थित रहे पनि शिक्षकहरु उपस्थित नरहेको पाइएको थियो ।

जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलका अनुसार सरकारी विद्यालयहरुको अनुगमन गर्दा विद्यालयको शैक्षिक अवस्था अत्यन्त कमजोर रहेको पाइएको छ । विद्यालयहरुमा विद्यालयको हाजिरी खातामा अधिक विद्यार्थीको सङ्ख्या देखाइए पनि ३० प्रतिशत विद्यार्थी मात्र उपस्थित रहेको तथा विद्यालयका शिक्षकहरु निजी विद्यालयमा पढाउन अधिक समय दिने गरेको समेत अनुगमनका क्रममा पाइएको जनाइएको छ ।

शिक्षा अधिकारी मण्डलले कतिपय विद्यालयमा विद्यार्थी सङ्ख्या अधिक देखाएर सरकारी विभिन्न सुविधा लिई दुरुपयोग गरेको समेत पाइएको बताउनुभयो । विद्यालय सुधार योजनाको नाउँबाट जाने रकम र छात्रवृत्ति रकमको दुरुपयोग गरिएको पनि पाइएको छ । कुनै कुनै विद्यालयमा प्रधानाध्यापक मात्र रहने गरेको, विद्यार्थीहरु नभएको र शिक्षकहरु काजको निहुँमा विद्यालयमा पठनपाठन गर्न नआएको अनुगमनका क्रममा पाइएको छ ।

सरकारले सरकारी विद्यालयमा अधिक लगानी गरे पनि शिक्षकहरुको शिक्षणप्रति बढ्दै गएको उदासीनताका कारण पनि सरकारी विद्यालयको प्रतिफल आशाजनक नभएको शिक्षा अधिकारी मण्डलले बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...