लिखित जवाफसहित सर्वोच्चमा हाजिर हुन आदेश

२७ मंसिर । सर्वोच्च अदालतले लामो दूरीका सवारी साधनमा दुई चालक अनिवार्य राख्ने व्यवस्था किन कार्यान्वयन नगरेको भन्दै यातायात व्यवसायी र यातायात मन्त्रालयलगायत सम्बद्ध निकायहरूलाई लिखित जवाफसहित सर्वोच्चमा हाजिर हुन आदेश दिएको छ ।

लामो दूरीका सवारी साधनमा दुई चालक अनिवार्य राख्ने व्यवस्था गर्न मागसहित परेको एक रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाऊसहित अग्राधिकार (सुनुवाइमा प्राथमिकताको अधिकार)को आदेश पनि दिएको छ ।

रिटमा उठाइएको विषयवस्तुको संवेदनशीलता र त्यसको छिनोफानो छिटो हुनुपर्ने आवश्यकता अदालतले देखे अग्राधिकार दिइन्छ । न्यायाधीश प्रकाश वस्तीको इजलासले बुधबार रिटलाई अग्राधिकारसहित विपक्षीहरूलाई दुई चालक राख्न नपर्ने भए कारणसहित लिखित जवाफ पेस गर्न पनि आदेश गरेको हो । अधिवक्ता तुलसी सिंखडाले मंगलबार दायर गरेको रिटमा भोलिपल्टै सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०५४ मा लामो दूरीका सवारी साधनमा अनिवार्य रूपमा दुई चालक राख्नुपर्ने व्यवस्था भए पनि त्यसको कार्यान्वयन भएको छैन । निवेदकले मन्त्रिपरिषद्, गृह मन्त्रालय, भौतिक तथा पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवसायी महासंघ र नेपाल प्रहरीलाई यसको जिम्मेवार बनाउँदै उनीहरूलाई रिटको विपक्षी बनाएका छन् ।

यी निकायको बेवास्ताका कारण दुई चालक राख्ने ऐनको कार्यान्वयन नभएको, लामो समयसम्म एक्लैले चलाउँदा चालक निदाएर दर्जनौं दुर्घटना भएको र सयौं यात्रुको ज्यान गएको जिकिर गर्दै यी निकायहरूलाई ऐन कार्यान्वयन गर्न आदेश दिनुपर्ने निवेदकको माग छ ।

मंसिर १६ गते सुदूरपश्चिमको बैतडी –डडेलधुरा–बाजुरास्थित भीमदत्त राजमार्ग सडक खण्डमा चालक निदाउँदा एक यात्रु बस दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा १३ को ज्यान गएको थियो भने ३४ घाइते भएका थिए । दुर्घटनापछि चालकले प्रहरीमा बयान दिँदै आफू थकानले निदाएकाले बस सडकबाट खसेको बताएका थिए ।

त्यही घटना र चालकको बयानलाई उद्धृत गर्दै निवेदकले आइन्दा यस्तो दुर्घटना रोक्न ऐनको कडाइका साथ परिपालना गराउनुपर्ने जिकिरका साथ रिट दायर गरेका हुन् ।

यातायात व्यवसायीबीचको अस्वस्थकर प्रतिस्पर्धा, ऐनको बेवास्ता र अन्य मानवीय त्रुटिका कारण धेरै दुर्घटना हुने गरेका छन् । निवेदकले रिटमा यातायात ऐनको दफा १०४ को पनि पूर्ण परिपालना गरिपाऊँ भनी माग गरेका छन् ।
उक्त दफामा लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रुवाहक सार्वजनिक सवारीमा प्रत्येक ६ घन्टामा चालक अदलबदल गर्नुपर्ने उल्लेख छ ।

दुई चालक राख्ने मात्रै होइन, ऐनअनुसार ६ घन्टाकै फरकमा अदलबदल पनि गर्न लगाउनुपर्ने निवेदकले माग गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...