समानुपातिकतर्फको अन्तिम सूची बुझाउने म्याद पुनः थपियो

१ पुस । निर्वाचन आयोगले संविधानसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम सूची बुझाउने म्याद दोश्रो पटक थपेको छ ।


चुनाव अघि आयोगमा बुझाएका नाममध्येबाट पार्टीले पाएको सभासद् संख्या बराबरको अन्तिम सूची समेत बुझाउन नसकेपछि दलहरुको आग्रहमा सात दिन म्याद थप गरेको हो । अब दलहरुले पुस १० गतेसम्म समानुपाति तर्फ सभासद्को नामावली बुझाउनुपर्नेछ । निर्वाचनमा पहिलो र दोश्रो बनेका कांग्रेस, एमालेले समेत समानुपातिकतर्फका सभासद् टुंगो लगाउन सकेका छैनन् । अझ चुनावमा धाँधली भयो भनिरहेको तेस्रो ठूलो दल एकीकृत माओवादी त संविधानसभामा जानकै लागि पनि सर्त राखिरहेको छ । चुनावमा धांधली भएको भन्ने एकीकृत माओवादी नेतृत्वको मोर्चाको माग सम्बोधन गर्न प्रमुख दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिको आग्रहमा आयोगले सात दिन म्याद थपेको छ । यसपटक थपिएको म्याद अन्तिम हुने निर्वाचन आयोगले बताएको छ ।
यसअघि सोमबार विहान कांग्रेस सभापति सुशील कोइराला निवास महाराजगञ्जमा बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकले समानुपातिक तर्फका सभासद्को नामावली बुझाउन निर्वाचन आयोगसँग थप सात दिन समय माग्ने निर्णय गरेको थियो । प्रमुख दलहरुले सहमतिको प्रयास भइरहेको भन्दै समय थपको माग गरेका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...