उधौलीका अवसरमा शुभकामना व्यक्त

२ पुस । राष्ट्रपति डा रामवरण यादवले किरातहरुको महान् चाड उधौलीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत समुदायमा शुभकामना व्यक्त गर्दै यो पर्व सबै नेपालीको सामाजिक सामञ्ज्यस्ता कायम राख्ने प्रतीकका रुपमा रहिरहन सकोस् भन्ने कामना गर्नुभएको छ ।

सन्देशमा उहाँले सम्पूर्ण धर्मावलम्बी, जातजाति तथा भाषभाषी जो जहाँ बसेका भए पनि आजको दिनले एकताबद्ध भै आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरी देशमा शान्ति र सुव्यवस्था स्थापना गर्नका लागि प्रेरित गर्ने उल्लेख गर्नुभएको छ ।
यसै उपलक्ष्यमा उपराष्ट्रपति परमानन्द झाले यस पर्वबाट किरातका साथै अन्य समुदायका नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले सन्देशमा राष्ट्रिय आवश्यकता र नेपालीको चाहना संविधान भएको उल्लेख गर्दै जनचाहनाअनुरुपको लोकतान्त्रिक संविधान प्राप्त हुने र स्थिरता र समृद्धिको मार्गमा देश अघि बढी सबै नेपालीमा सुख, शान्ति र समृद्धि प्राप्त हुने उल्लेख गर्नुभएको छ ।
यसैबीच मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले किरात समुदायको महान् उधौली पर्व–२०७० का अवसरमा किरात समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले सन्देशमा नेपाली राजनीतिको विशेष परिस्थितिमा भएको संविधानसभाको निर्वाचनको सम्पन्नतासँगै अब चाँडै जननिर्वाचित सरकारको गठन हुने र आवश्यकता सुहाउँदो संविधान निर्माण भई नेपाली समाज शान्ति, विकास र समृद्धिको पक्षमा अग्रसर हुनेछ भन्नेमा हामी सबै विश्वस्त भई अघि बढ्नु आजको आवश्यकता रहेको उल्लेख गर्नुभएको छ । उहाँले शान्ति, सद्भाव र एकताका साथ आआफ्नो रचनात्मक भूमिकामार्फत अग्रसर हुन समस्त राजनीतिक दल, सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज, व्यावसायिक सङ्घसङ्गठनलगायत जनसमुदायमा आग्रह गर्नुभएको छ ।
अध्यक्ष रेग्मीले किरात समुदायलगायत समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धिको कामना गर्दै नेपालीबीच रहिआएको एकता र सद्भावलाई चिरकालपर्यन्त दिगो बनाइराख्न सबैलाई प्रेरणा प्राप्त भइरहोस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...