सडक विस्तारको काम सकाउन अख्तियारको निर्देशन

२८ मंसिर । अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले असार मसान्त भित्र काठमाडौं उपत्यकाको सडक विस्तार सक्न सरोकारवालालाई निर्देशन दिएको छ ।

आयोगले दिएको तालिकामा काम नसके सम्बद्ध पदाधिकारीलाई जिम्मेवार ठहराई कारबाही गर्ने चेतावनी दिएको शुक्रवार जारी प्रेस विज्ञप्तिमा छ ।

आयोगले लैनचौर– लाजिम्पाट–बूढानीलकण्ठ सडक खण्डमा १५ दिन भित्र भूमिगत तार विच्छाउन नेपाल टेलिकमलाई, ६० दिन भित्र विद्युत तार विच्छ्याउन नेपाल विद्युत प्राधिकरणलाई डेडलाईन दिएको छ । त्यसैगरी आयोगले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई यो सडकमा ४५ दिन भित्र पाइप, ढल मर्मतको काम सक्न निर्देशन दिएको छ ।

आयोगले काठमाडौं सडक विस्तार आयोजना अन्र्तगत भैरहेको काठमाडौं उपत्यकाभित्रका विस्तारित सडकमध्ये चैत मसान्त भित्र ३० किलोमिटर पिच गर्न र बाँकी ६४ किलोमिटर सडक २०७१ असार मसान्तभित्र पिच गरी सक्न पनि निर्देशन दिएको छ ।

आयोगले काठमाडौं महानगरपालिकाले विस्तार गरिरहेका सडकमध्ये आठ मिटर र त्योभन्दा कम चौडाइका सडक माघ, चैत र असारको डेडलाईनमा पूरा गर्न निर्देशन दिएको हो ।

सरोकारवालालाई आयोगमा डाकेर आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले नौबीसे सडक चैत मसान्तभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका हुन् । उनले सडक विस्तारमा आफै अनुगमन गर्ने र तोकिएको काम तोकिएको समयमा पूरा नभए कारवाही गर्ने चेतावनी दिएका थिए ।

उनले काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तका कार्यालय तथा सडक विस्तार आयोजनालाई सडक पेटिको भाग निर्माण गर्दा एकरुपता कायम गर्न पनि निर्देशन दिएका छन् ।

आयोगले सडक तथा पेटी विस्तारका क्रममा भत्काउनु पर्ने बाँकी स्थानमा पुस मसान्तभित्रै भत्काउन निर्देशन दिएको छ ।

भत्काउने सडकका विषयमा घरधनीलाई अविलम्ब जानकारी दिन पनि अख्तियारले आग्रह गरेको छ । त्यस्तै सडक विस्तारका क्रममा क्षति भएका घरधनीलाई छ साता भित्र क्षतिपूर्ति दिन प्राधिकरणलाई निर्देशन दिएको छ ।
आयोगले सडक विस्तारका क्रममा आवश्यक पर्ने बजेटको व्यवस्था गर्न अर्थमन्त्रालयलाई आग्रह गरेको छ । आयोगको छलफलमा अर्थ, ऊर्जा, भौतिक, संचार तथा सहरी विकास मन्त्रालयका सचिव सहभागी थिए ।

त्यसैगरी बैठकमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक, ट्राफिक प्रहरी प्रमुख, महानगरीय उपत्यका प्रहरी आयुक्त, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका महाप्रबन्धक, काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत, काठमाडौं उपत्यका विकास प्राधिकरण काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला आयुक्त सहभागी रहेको शुक्रवार जारी प्रेस विज्ञप्तिमा छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...