बंगलादेशमा आज दशौं आम निर्वाचन हुँदै

२१ पुस । आज बंगलादेशमा दसौं आमनिर्वाचन हुँदैछ ।
निर्वाचनप्रक्रियाको विरोध गर्दै मुख्य विपक्षी पार्टी बंगलादेश नेसनालिस्ट पार्टी र उसको सहयोगी पार्टीले निर्वाचन बहिष्कारको घोषणा गरे पनि त्यहाँको सरकारले निर्वाचन जसरी पनि सम्पन्न हुने बताएको छ ।

सत्ताधारी बंगलादेश अवामी लिग बीएएलले निर्वाचनप्रक्रियाका क्रममा तटस्थ सरकार गठन नगरेको भन्दै विरोध प्रदर्शन भइरहेको छ ।

चुनावको विरोधमा रहेको पार्टीहरुले देशका करिब ३० वटा मतदान केन्द्रमा आगजनी गरेका छन् भने निर्वाचन सामग्री बोकेर मतदानस्थल तर्फ जाँदै गरेको थुप्रै गाडीहरुमा जलाईदिएका छन् ।

बिरोधका क्रममा भएका झडपमा हिजोमात्रै कम्तीमा ६ जनाको मृत्यु भएको छ । सरकारले निर्वाचन सुरक्षाका लागि भन्दै मुलुकभर ५० हजार सैनिक परिचालन गरेको छ ।

विपक्षी पार्टीले निर्वाचनअघि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर तटस्थ कामचलाउ सरकार गठन गर्नुपर्ने माग राखेका थिए ।

तर सरकारले यो माग खारेज गर्दै निर्वाचन संवैधानिक रूपबाट आवश्यक रहेको अडान लिएको छ । प्रधानमन्त्री हसिनाका वरिष्ठ विदेश नीति सल्लाहकार गोवेर रिज्वीले संसदीय अवधि सम्पन्न भएकाले निर्वाृचन गराउनुको विकल्प नभएको बताएका छन् ।

सन् २०१३ मा बंगलादेशमा राजनीतिक हिंसामा पाँच सय व्यक्तिको मृत्यु भइसकेको स्थानीय अधिकारवादी कार्यकर्ताले बताएका छन् ।

न्युयोर्कमा केन्द्रीय कार्यालय रहेको ह्युमन राइट्स वाचले अराजकताका लागि दुवै पक्ष जिम्मेवार भएको आरोप लगाएको छ ।

यस मुलुकमा प्रमुख इस्लामी दल जमात ए इस्लामीलाई निर्वाचनमा भाग लिन प्रतिबन्ध लागेको छ । अमेरिका, युरोपेली महासंघ र राष्ट्रमण्डलले निर्वाचन अनुगमन गर्न अस्वीकार गरेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...